मध्यपुर ठिमी भक्तपुर
खेलकुदका माध्यमबाट अनुशासित, सक्षम र राष्ट्रको गौरव उच्च राख्ने खेलाडीहरूलाई उचित स्थान प्रदान गर्न लागि परिरहेको मध्यपुर ठिमीकै अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले २०८१ असोज १६ गते फुटबल प्रशिक्षण एवं मैत्रीपूर्ण फुटवल खेल खेल्न चाइना जाने विद्यार्थीहरूका लागि विदाई कार्यक्रमको आयोजना गर्यो। सो कार्यक्रम यही कार्तिक ३ गतेदेखि चीनको गोन्जाओ प्रान्तमा आयोजना हुन गइरहेको छ। मध्यपुर युथ एसोसिएसनको संयोजनमा चीनको गोन्जाओस्थित विभिन्न क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्नका लागि तथा विशेष प्रशिक्षकहरूद्वारा प्रदान गर्ने तालिममा सहभागी हुन विनायकका तीनजना विद्यार्थीहरु रोजिन सालाजु ,आरुस प्रजापति र जेनियम श्रेष्ठ छनौटमा परी चाइना जान लागेको कुरा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले हामीलाई जानकारी गराउनुभयो । सो विदाई कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले तीनैजना विद्यार्थीहरूलाई उत्कृष्ट खेल खेल्दै विद्यालय तथा राष्ट्रको नाम उच्च राख्न सफल हुन सकुन् भनी शुभयात्रा तथा शुभकामना ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकासका साथसाथै आत्मनिर्भर बन्ने जीवन उपयोगी सिप विकासका लागि विद्यालय हरेक विद्यार्थीका लागि तयार रहेको र आफूले पाएको अवसरलाई सही सदुपयोग गरे जो कोहीले पनि यस्ता अवसर पाउन सक्ने भएकाले आआफ्नो क्षेत्रमा कडा परिश्रम गर्दै अगाडि बढ्न सल्लाह दिनुभयो।
स्मरण रहोस् यसभन्दा अगाडि पनि विभिन्न समयमा विनायकका विद्यार्थीहरु जापान, अमेरिका ,बंगलादेश ,भुटान ,भारत लगायत अन्य देशहरुमा फुटबल तथा नेतृत्व विकासका लागि विभिन्न अन्तर्राष्ट्रिय तालिमहरुमा सहभागी हुन सफल भएका थिए।