मध्यपुर ठिमी हाम्रो संस्कृति :हाम्रो सम्पत्ति ,हाम्रा चाडपर्व हाम्रा सान: समावेशी संस्कृति हाम्रो पहिचान भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर ठिमीमा दशैं बिदा अगाडिको अन्तिम दिन दशैंलाई सम्झाउन दशैं पर्व एवं शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो।

विशेष गरेर समस्त नेपालीहरूको महान पर्व बडा दशैंबारे व्यावहारिक ज्ञान दिलाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो। हिन्दूहरूको महान पर्व दशैं ,यसको सांस्कृतिक महत्व, टिका जमराको सांस्कृतिक र धार्मिक महत्वका विषयमा जानकारी गराउँदै साे कार्यक्रममा शुभकामना आदानप्रदानसमेत गरिएको थियो। सबैलाई शुभकामना एवं शुभ आशीर्वाद प्रदान गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले सांस्कृतिक रूपान्तरणका लागि कलिला बालबालिकाहरूमा संस्कृतिक सचेतना प्रदान गर्न, बडा दशैंको महिमा र गरिमा बढाउन उद्देश्यले यस्ता किसिमका कार्यक्रमहरू स्थापनाकालदेखि विद्यालयले गर्दै आएको कुरा बताउनुभयो। साथै प्रिन्सिपल प्रजापतिले सम्पूर्ण शिक्षक शिक्षिका, विद्यार्थी , अभिभावक, शुभचिन्तक एवं नेपाली जनतामा सुख, शान्ति ,समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गर्नुभयो ।कार्यक्रममा टिका जमराका साथ सबैलाई शुभकामना कार्ड प्रदान गर्दै दशैंले सबैमा सकारात्मक सोचको विकास गराओस् भनी शुभकामना प्रदान गरिएको थियो।

Tags: