विविध अतिरिक्त क्रियाकलाप तथा पाठगत क्रियाकलापको माध्यमबाट विद्यार्थीहरुलाई सक्षम आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्देश्यले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले आफ्नो मासिक कार्यतालिका अनुसार यही २०८२ जेष्ठ ३० गते वादविवाद तथा हिज्जे प्रतियोगिता कार्यक्रमको आयोजना गर्यो। विनायक साहित्यिक क्लबको संयोजन तथा अतिरिक्त क्रियाकलाप समितिको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको प्रमुख आतिथ्यता तथा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाको आतिथ्यतामा सम्पन्न भएको थियो । विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि हिज्जे प्रतियोगिता तथा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि प्रविधिले विद्यार्थीको पढाइमा असर गर्छ शीर्षक वादविवाद प्रतियोगिताको आयोजना गरिएको थियो जसका निर्णायकहरूमा विद्यालयका शैक्षिक संयोजक शैलेन्द्र भट्टराई तथा अंग्रेजी शिक्षक कृष्णपन्थी रहनुभएको थियो। साथै सोही दिन आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि एवं विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यार्थीको सर्वाङ्गिण विकासका लागि उनीहरु भित्र अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालयले अवसर प्रदान गरिरहेको र भविष्य मा पनि अझ धेरै अवसर सिर्जना गर्दै लैजाने कुरा बताउँदै विजेता सम्पूर्ण विद्यार्थीहरू लाई बधाई एवं उज्ज्वल भविष्यको शुभकामना दिनुभयो। स्मरण रहोस् वादविवाद प्रतियोगितामा कक्षा १० कि छात्रा अमृता गोले प्रथम, कृषा प्रजापति द्वितीय, तुलज प्रजापति तृतीय र सुजिना कुम्पाखाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए।

Tags: