खेलकुद र शिक्षाले शारीरिक र मानसिक अवस्थालाई सबल बनाउँछ भन्ने मान्यता राख्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुद र शिक्षालाई सँगसँगै लाँदै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा फागुन १४ गते शिवरात्रीका दिन विद्यालयको छत्तीसौँ वार्षिकोत्सवको पुनित अवसरमा अन्तर्विद्यालय स्तरीय जिम्नास्टिक प्रतियोगिताको आयोजना गरेको छ।
विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिको सभापतित्व तथा मध्यपुर ठिमी नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपत्यका भित्रका १२ वटा विद्यालयका करिब ९० जना विद्यार्थीहरू प्रतिस्पर्धामा रहेका थिए ।
मध्यपुर जिम्नस्टिक क्लबका अध्यक्ष तथा नेपाल जिम्नस्टिक परिषद्का सदस्य समेत रहेका जिमनास्टिक प्रशिक्षक विजेन्द्र श्रेष्ठको संयोजनमा आयोजित उक्त कार्यक्रममा नेपाल जिम्नास्टिक सङ्घका जिल्ला र राष्ट्रिय स्तरका प्रशिक्षक एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
विद्यालयकी शिक्षिका यमुना प्रजापतिले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रममा विभिन्न उमेर समूहका विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराइएको थियाे भने उक्त कार्यक्रममा एकल र समूहगत रुपमा विद्यार्थीहरु सहभागी भएका थिए । सो कार्यक्रममा उत्कृष्ट भई विभिन्न विद्यालयका विजेता विद्यार्थीहरूलाई ट्रफी तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खेलकुद र शिक्षालाई सँगसँगै लान सकेमा विद्यार्थीको सर्वाङ्गीण विकास हुन सक्ने र गुणस्तरीय शिक्षाका माध्यमबाट भोलिका यो देशका अति उपयोगी दक्ष जनशक्ति तयार गर्न सकिने भएकाले विद्यालयले स्थापना कालदेखि नै यी यस्ता कार्य गर्दै आएको बताए । साथै विजेता एवं सहभागी सम्पूर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे ।








